पूर्व डिआईजी जोशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

२०८१ अशोज ७

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व डिआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको छ ।

आइतबार पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: