बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ ।
लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२: २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राई सहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: