पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जोडिएको बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेले बयानका क्रममा सहकारी ठगीमा आफू कुनै किसिमले पनि संलग्न नभएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको बयान रहेको छ । उक्त बयानमा लामिछानेले भनेका छन्, ‘सहकारीको रकम अपचलन एवं ठगीजन्य कार्यमा कुनै पनि तवरबाट संलग्न नभएको व्यक्ति मलाई संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जोडिनु केवल राजनीतिक पूर्वाग्रह मात्र हो । म यी कसुरमा कहिँ कतै, कुनै पनि तवरबाट संलग्न छैन/थिइन ।’ त्यस्तो पूर्वाग्रह कसले जोड्यो भन्ने बयानमा उल्लेख छैन।
लामिछानेले अगाडि भनेका छन्, ‘गोर्खा मिडिया नेटवर्कमा म कर्मचारीको रूपमा मात्र प्रवेश गरी लगानीकर्ताले सित्तैमा उपलब्ध गराएको १५ प्रतिशत सेयर प्राप्त गरी आफ्नो पदिय हैसियत र गोर्खा मिडियाले उपलब्ध गराएको सेवा, सुविधा तथा तलबमा मात्र आफ्नो जिम्मेवारी अनुसारको काम गरेको हूँ।’
सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि स्पष्ट रहेको छ “लामिछानेले बयान दिएका छन्”। ‘सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेस गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको अवस्था छ,’ लामिछानेले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्: