सर्वोच्चको आदेश बमोजिम दुर्गा प्रसाईं रिहा

२०८१ पुस ५

काठमाडौँ । सर्वोच्च अदालतको आदेश बमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । सोही बमोजिम उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

प्रसाईंका छोरा निराजनले छिनछिनमा औषधि खाइरहनु पर्ने र पूर्ण आराम गर्नु पर्ने अवस्थाका क्यान्सरका रोगी आफ्ना बाबुलाई रिहा गरी पाऊँ भनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सोही निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार २४ घण्टाभित्र प्रसाईंलाई उपस्थित गराउन प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

संगठित अपराध कसुर गरेको र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उनि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए । उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।

सिआईबीका प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति-कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्: