
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
शनिबार चितवनको भरपुर स्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रम मार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, ‘जनयात्रा’को शुभारम्भ गरिएको हो । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को श्रृङ्खला जनयात्रा भएको रास्वपाको भनाइ छ ।
रास्वपाले देशमा व्यापक भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाइँमा आवाज अझ बुलन्द गर्ने बेला आएको जनाएको छ । ‘सत्तामा बसेकाहरूलाई तिमीहरूको अत्याचार अति भयो नसच्चिने भए सक्किन तयार बस भनेर शंखनाद गर्ने बेला आएको छ । गाउँ गाउँमा जाने बेला आएको छ । बस्ती बस्तीमा पुग्ने बेला आएको छ’, रास्वपाको भनाइ छ । आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो । तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् ।लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: