
काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् ।
कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए ।
१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? पूर्वराजा ज्ञानेन्द्रलाई समितिमा बोलाऔं । यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ,’ उनले भने ।
लोकतन्त्रमाथि धावा बोल्ने,अराजकता मच्चाउने अधिकार कसैलाई छैन । अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ थियो ।
अराजकता र अमानवीय व्यवहार गर्ने कुनैपनि व्यक्तिलाई छुट छैन । संविधानको नजरमा सबै बराबर छन् । सामान्य जनताले पाउने मानवअधिकारको जति अधिकार हो, उहाँलाई पनि त्यति नै अधिकार हो । त्योभन्दा बढी छैन,’ उनले भने ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्: