वीरगन्जमा दुई समुदायबिचको घटना प्रति मधेश प्रदेश मुख्यमन्त्री कार्यालयको विज्ञप्ति

२०८२ बैशाख ३

वीरगन्ज । हनुमान जयन्तीका अवसरमा शनिवार वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको घटनाक्रम प्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गहिरो चासो व्यक्त गरेका छन् । उनले स्थिति सामान्य पार्न प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै जनजीवन सहज बनाउन सक्रिय पहल जारी राख्न निर्देशन दिएका छन् ।

घटनाको ५ दिन पछि मधेश प्रदेश मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार भएको उल्लेख छ । मुख्यमन्त्री सिंहले कसैको धार्मिक पहिचान वा आस्थाको आधारमा विभेद वा द्वेष फैलाउने प्रयासलाई कुनै हालतमा सह्य नहुने स्पष्ट गरेका छन् । उनले घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिँदै राज्यको धर्मनिरपेक्ष चरित्र कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

उनले वीरगंजको धार्मिक, सांस्कृतिक र जातीय विविधता नै मधेशको शक्ति भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास दुःखद र दुर्भाग्यपूर्ण भएको बताए ।

सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र स्थानीय प्रशासनको भूमिकालाई प्रशंसनीय भन्दै मुख्यमन्त्री सिंहले एक–अर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान गर्नु नागरिकको साझा दायित्व भएको धारणा व्यक्त गरे ।

उनले हालै सम्पन्न सर्वदलीय बैठकले तय गरेको ५ बुँदे सहमति अनुसार दोषी पहिचान, निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रशासनलाई आग्रह गरिसकिएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्: