
वीरगन्ज । धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा केही हिन्दुवादी युवाहरू पक्राउ परेपछि वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन शुरु भएको छ ।
प्रदर्शनकारीहरूले वीरगञ्जको घाण्टाघर, माईस्थान, श्रीपुर, प्रतिमा चोक र परवानीपुर बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । “हिन्दूमाथि अन्याय बन्द गर” र “समान व्यवहार गर” जस्ता नारासहित उनीहरूले प्रहरीले हिन्दू समुदायमाथि एकतर्फी कारबाही गरेको आरोप लगाएका छन् । परवानीपुरमा टायर बालिएपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
प्रदर्शनमा सहभागी एक युवाले हनुमान ज्यन्तीको शोभायात्रामा ढुंगा प्रहार गर्नेहरूलाई उन्मुक्ति दिइएको र उल्टै हिन्दू युवाहरूलाई पक्राउ गरिएको भन्दै घटनाको निष्पक्ष छानबिनको पुनरावलोकनको माग गरे ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनामा संलग्न प्रमाणित भएकाहरूलाई मात्र पक्राउ गरिएको स्पष्ट पार्दै कसैलाई धार्मिक पहिचानका आधारमा कारबाही नगरिएको बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सुरक्षाको आवश्यक व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: